LICENSE

    03 September, 2023

    श्रद्धाञ्जली

     


    - के आर ढकाल 
    पोखरा

    श्रद्धाञ्जली

    (अनुष्टुव छन्द)

    तातेको बालुवा माथि, पाइला चाल लौ भने,
    म सक्थेँ उम्लिँदो तेल, मुखैमा हाल लौ भने !
    म आगो निल्न तम्सन्थेँ, आँधि रोकेर हिँड्दथेँ,
    म शैल हातमा बोकि, समुन्द्र पार तर्दथेँ !

    हो ! अट्टहास गर्थेँ म, काखैमा नाच्न थाल्दथेँ,
    यो धर्ती स्वर्ग झैं लाग्थ्यो, जब म बासँगै थिएँ !
    छातीमा शूल रोपेर, दैवले नुन छर्कियो,
    म बस्ने घरको छानो, लौ खस्यो ! लौ न भत्कियो !

    अमृत जल बग्ने ती, सरिता बग्न छाड्दिइन्,
    चाँदनी हाँस्न छाडेर, कालो पोतेर बस्दिइन् !
    समुन्द्र जम्न थाल्दैछन्, हावाले बग्न छाड्दिए,
    जब यो नभ सारामा, सूर्य चम्किन रोक्किए !

    वृक्षले फल्न छाडेर, सिख्रिँदै सिख्रिँदै गए,
    फूलले वासना रोके, पक्षी नगाउने भए !
    मेघले गर्जिनै बिर्से, आकाशै ढाकिए पनि,
    वर्षा नबर्सिने भन्छिन्, पर्वतै पल्टिए पछि !

    कविले लेख्न सक्दैनन्, स्वयम् ती शोकमग्न छन् !
    सप्तक राग बिर्सेर, शोकधुन बजाउँछन् !
    न रङ्गमञ्चमा कोही, न रङ्ग क्यानभासमा,
    के उत्पात भयो लौ न! सम्पूर्ण छन् तलासमा !

    पल्टियो बरको वृक्ष, चौतारी भत्किँदै गयो,
    नहुँदा लोकमा ज्योति, समय शून्य भै रह्यो
    नसुत चिर निद्रामा, कि तिमी फर्क बा घर !
    लैजाऊ कि तिमीसँगै, म यहाँ बस्नु के छ र?

    यो देह जड जानेर, वैकुण्ठ लोकमा गयौ,
    तिमीले मुक्तिको मार्ग, आफ्नो गन्तव्य सम्झियौ,
    आउँछु म तिमी सँगै, होला क्यै क्षण अन्तर !
    चिर शान्ति मिलोस् बाबा, श्रद्धाञ्जली निरन्तर !

    0 Comments:

    Post a Comment