LICENSE

    02 September, 2023

    रणभूमिका कविताहरु


    - K. R. Dhakal
    Pokhara

    रणभूमिका कविताहरु


    आज,
    तिम्रा र मेरा विचारहरु
    अक्षर, शब्द र भावहरु
    रणभूमिमा कुरिरहेछन्
    शंखनादको चर्को धून
    गर्नलाई कविताहरुको युद्ध ।

    तिम्रा कविताहरु
    शहरको एक दरबार भित्र,
    झिलिमिली प्रकाशमा कोरिएका छन्
    त्यसैले
    तिमी लेख्दछौ सुरा सुन्दरीका कुरा
    तिमी मिसाउँछौ शृङ्गारिकताका भाव,
    तिम्रा कविताहरुमा
    देखिन्छन् राजधानीका समृद्धि
    तर ठिक विपरित
    मेरा कबिताहरु
    लेखिएका छन् पातीको झुपडीभित्र
    टुकीको धमिलो प्रकाशमा
    त्यसैले
    म लेख्छु अभावका वास्तविकता
    पसिनाले कोरेका अनुहारका धर्साहरु
    पहराको लहरा जस्तै
    अभाव र दासताको भुमरीमा
    हल्लिएर बाँच्न विवश
    श्रमजीवीका जिन्दगीहरु ।

    सायद,
    तिमीले सुनेकै छैनौ
    बलात्कृत चेलीको आर्तनाद,
    तिमीले देखेकै छैनौ,
    न्याय माग्दै सडक झरेका मान्छे
    भोगेकै छैनौ राजधानी बाहिरको देश
    छोएकै छैनौ आरुवखडाका हाँगाहरुमा
    फुलेका हिउँका फूलहरु
    तिमी डिस्को र बारको नग्नता
    निर्धक्क पस्कन्छौ कबिताभित्र
    किनकी
    तिमीले देखेकै छैनौ
    भाङ्ग्रा, चौबन्दी र फरियाहरु ।

    मैले देखेका छाउपडीका पीडा,
    भोगेका कर्णालीका भोक,
    मैले सुनेका कञ्चनपुरका आर्तनाद,
    छोएका मुस्ताङका हिउँका ढिका
    मैले लडेको लिपुलेक र सुस्ता
    तिमीले पनि देखेको, छोएको, भोगेको भए,
    लेख्ने थियौ होला
    अल्नो खोले खाएका कविताहरु,
    दुख र पीडा गाएका कविताहरु ।

    आऊ
    आज तिम्रा र मेरा कविताहरु
    आमने सामने गरेर जुधौँ,
    पाठकका मस्तिष्कलाई बनाएर रणभूमि
    कसी लगाएर वास्तविकताको
    छुट्याउँ कविताहरुका स्थान
    र गरीदिउँ उत्कृष्टलाई पुरस्कृत,
    तिमीले जिते तिमीले राज गर,
    मैले जिते जनता राज गर्लान् ।

    कविताको भिडियो हेर्नुहोस् : 


     

    0 Comments:

    Post a Comment