आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा आफैमा एक पवित्र र महत्त्वपूर्ण दिन हो । हिन्दु, बौद्ध र जैन धर्ममा समेत गुरुपूर्णिमाको आफ्नै महत्त्व रहेको छ । हिन्दु शास्त्र अनुसार महर्षि वेदव्यासको जन्म भएको दिन, बुद्ध धर्ममा भगवान गौतम बुद्धले पहिलो उपदेश दिएको दिन आदिका रुपमा मानिएको यस दिनलाई गुरु–शिष्य परम्पराको विकासको दिनका रुपमा समेत चित्रण गरिन्छ । यस दिनमा शिष्यहरुले आफ्ना गुरुलाई भेटेर सम्मान गर्ने, आशीर्वाद लिने कार्यका साथसाथै गुरुको सम्मानमा विविध कार्यक्रमको आयोजना समेत गर्ने गरेको पाइन्छ ।
गुरु पूर्णिमा केवल एक धार्मिक पर्व होइन, यो त मानव जीवनमा शिक्षा, मार्गदर्शन र जीवनमूल्यको स्मरण गर्ने दिन समेत हो । अज्ञानता रुपी अन्धकार हटाई जीवनमा ज्ञानको प्रकाश दिने व्यक्तिलाई नै गुरु मानिएको छ । जसको मार्गदर्शन विना जीवन अन्धकारमा रुमल्लिइरहन्छ, दिशा विहिन हुन्छ ।
आजको युग भौतिकबादी बन्दै गएको अवस्थामा गुरुलाई सम्मान गर्नु भन्दा जागिर खान आएका व्यक्तिको रुपमा चित्रण गर्ने प्रवृत्ति बढ्दो छ । जसले गर्दा नयाँ पुस्ताले गुरुको अर्तिलाई जीवनमा लागु गर्न सकिरहेको छैन र समाजमा अराजकता मौलाउँदै गएको छ । हुन त, गुरुहरु पनि सच्चा गुरुको रुपमा प्रस्तुत हुन नसकी केवल जागिरे व्यक्तिको रुपमा प्रस्तुत भएर पनि यो समस्या आएको हुन सक्छ । आत्मज्ञानी, अनुभवी, सहनशील, धैर्य, करुणायुक्त, उच्च नैतिकवान, अनुशासित, इमान्दार, निःस्वार्थी र आदर्श जीवन विताएका गुरुहरुको खडेरी परिरहेको वर्तमान अवस्थामा गुरुले समेत आफ्नो कर्तव्यपालनामा ध्यान पुर्याउनु आवश्यक देखिन्छ ।
राज्यले शिक्षक अर्थात् गुरुलाई गरेको दोस्रो दर्जाको व्यवाहारले पनि शिष्यहरुले गुरुलाई सम्मान गर्न हिचकिचाएको देखिन्छ । समाजमा उच्च विचार भएको नैतिकवान गुरुले भन्दा ठगी खाने फटाहाले गुणस्तरीय जिवन विताएको प्रत्यक्ष रुपमा देखेका शिष्यलाई गुरुले इमान्दारीता र कर्तव्यनिष्टता सिकाउँदै गर्दा शिष्यको मनमा कस्तो भाव खेल्दो हो ? प्रत्यक्ष रुपमा नदेखिए पनि महशुष गर्न सकिन्छ । गुरुहरुको अपमान गर्न तँछाड मछाड गरी अभिव्यक्ति दिने राज्यका उच्च पदस्थ नेतृत्वबाट कलिला बालबालिकाले के सिक्लान् ? अनि हाम्रो समाज कता जाला ? हुन त जसमा ज्ञान छैन, उसले आफूलाई सर्वोच्च मान्ने गर्दछ, झुक्ने भनेको त फलेको हाँगो हो । त्यसैले पनि ती अभिव्यक्तिबाट गुरुहरु विचलित हुनु हुँदैन ।
भर्खरैका केही घटनाहरु हेर्ने हो भनेपनि नेपालमा गुरुको अवस्था स्पष्ट हुन्छ । समग्र शैक्षिक प्रकृयाको सुधारको माग गर्दै लामो समय आन्दोलन गरेका गुरुहरुले अन्त्यमा सरकारसँग सम्झौता गरी आन्दोलन समापन गरे तर सरकारले सो सहमतिलाई लत्याएर गुरुहरुलाई अपमानित गरेको हाम्रा शिष्यहरुले स्पष्ट देखिरहेका छन् । अब ती शिष्यहरुलाई गुरुले झुटो बोल्न नहुने र बोलेको वचन पूरा गर्नुपर्ने पाठ कसरी सिकाउलान् ? हेर्न बाँकी छ । अर्को घटना हेरौँ, भर्खरै मात्र त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट भएका एक गुरुलाई कुनै एक विद्यार्थी संगठनको नामबाट शिष्यहरुले अपमान गरी कार्यकक्ष बाहिर राखिएको नाम नै भाँचेर फालिदिए । यसले गुरु शिष्यको सम्बन्ध कस्तो बन्ला ? हेर्न बाँकी नै छ । यी त प्रतिनिधी घटना मात्रै हुन् । पढाउँदा पढाउँदैका गुरुहरुलाई तानेर बाहिर निकाली गोली ठोकिएका देखि विचार नमिलेको आधारमा गुरुलाई सास्ती दिइएका घटना कति छन् कति । अहिलेका प्राय गुरुहरु “बिचरा” अवस्थामा छन्, त्यसैले त देश पनि विस्तारै “बिचरा” अवस्थामा जान खोज्दैछ ।
यी तमाम समस्याका बिचमा पनि गुरु शिष्य परम्परालाई जोगाउनु र ज्ञानको गंगा प्रवाह गराउनु समग्र गुरुहरुको कर्तव्य हो, जिम्मेवारी हो । शिष्यहरुमा गुरुप्रति सम्मान भाव जगाउन स्वयम् गुरुले पनि सम्मानित व्यवहार गर्नुपर्छ । क्षमा नै सबैभन्दा उच्च तहको समाधान हो । त्यसैले गुरुहरुले शिष्यका सबै गल्तिलाई क्षमा गरी उचित मार्गदर्शन गराउनु पर्दछ । वर्तमान संकटको युगमा समाजलाई ज्ञान, विवेक र नैतिकताको बाटो देखाउन गुरुहरूको भूमिका अझ सशक्त बनिनुपर्ने आवश्यकता छ। हामी सबैले गुरुको सम्मान गर्ने संस्कारलाई जीवनको अङ्ग बनाउनुपर्छ ।
गुरु पूर्णिमाको धेरै धेरै शुभकामना !







0 Comments:
Post a Comment