LICENSE

    विहानी प्रार्थना सभामा विद्यार्थीलाई सम्बोधन गर्दै प्रधानाध्यापक


    प्रत्येक दिन विहानी प्रार्थना सभामा विद्यार्थीहरुले कवाज प्रदर्शन गर्ने, राष्ट्रिय गान तथा पालिका गान गाउने गर्नुका साथै प्रधानाध्यापकबाट विद्यालयसँग सम्बन्धित सुचना, जानकारी तथा निर्देशन दिने गरिएको छ !

    नवनियुक्त प्रधानाध्यापकलाई बधाई


    विद्यालयका नवनियुक्त प्रधानाध्यापक किर्तीराज ढकाललाई अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला देबकोटा, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेल लगायतले सफल कार्यकालको कामना सहित हार्दिक बधाई ज्ञापन गर्दै ।

    पुस्तकालयमा स्वतन्त्र सिकाई


    विद्यालयले कक्षा १ देखि कक्षा १२ सम्म नै साप्ताहिक रुपमा एक घण्टी स्वतन्त्र सिकाईका लागि पुस्तकालयमा स्वअध्ययन गर्ने कार्यक्रमलाई अगाडि सारेको छ । यस समयमा निरिक्षण र सहयोगका लागि एकजना शिक्षक पुस्तकालयमा उपलब्ध हुने व्यवस्था मिलाईएको छ ।

    अन्तर सदन तीजगित प्रतियोगिता २०८२


    नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा विद्यालयले अयोजना गरेको तीज गित प्रतियोगितामा पुरस्कृत प्रतियोगिलाई पुरस्कार वितरण गरिएको छ । विद्यालयले विभिन्न चाडहरुलाई मौलिक संस्कृति जोगिने गरी विद्यालयमा नै मनाएर विद्यार्थीलाई हाम्रो मौलिक संस्कृतिको ज्ञान दिँदै आइरहेको छ ।

    हिमालयन बालगृहद्वारा विद्यार्थीलाई सहयोग


    अन्नपूर्ण ९ उल्लेरीमा रहेको हिमालयन बालगृहले यस विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीलाई विद्यालय पोषाक, झोला र स्टेसनरी सामग्री सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत जेहन्दार विद्यार्थीहरुलाई विद्यालयको सिफारिसकै आधारमा सो सहयोग सामग्री हस्तान्तरण गरिएको थियो ।

    31 July, 2024

    सम्पत्ति विवरण फारम

    सबैभन्दा पहिला  सम्पत्ति विवरण फारम प्राप्त गर्न यहाँ क्लिक गर्नुहोस् ।  

    • अब नयाँ ट्यावमा देखिएको सम्पत्ति विवरण फारमको वायाँतर्फ माथी भएको फाइल बटनमा क्लिक गर्नुहोस् । 
    • डाउनलोडमा क्लिक गरी microsoft word छनौट गर्नुहोस् । 
    • तपाईँको फाइल डाउनलोड भएको छ । आफ्नो कम्प्युटरको डाउनलोडमा गई फाइल खोलेर सम्पादन गर्न सक्नुहुन्छ । 
    Note: यो फाइल प्रिति फन्टमा निर्माण गरिएको हुँदा यदी download गरेको File खोल्दा पनि Font सपोर्ट नगरेमा Preeti Font Install गर्नुहोला । 

    15 July, 2024

    शिक्षा मन्त्रीलाई खुला पत्र

     पोखरा, कास्की ।

    मिति : २०८१/०४/०१

    माननीय मन्त्रीज्यू,

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार, काठमाडौँ । 


    आराम छु, आराम चाहन्छु । 

    सर्वप्रथम त ‘शिक्षा मन्त्री’ को गरिमामय पदमा नियुक्त हुनुभएकामा हार्दिक बधाई ! यो पद आफैँमा अत्यन्त महत्त्वपूर्ण र जिम्मेवारीपूर्ण पद हो, जहाँ तपाईँको नेतृत्वमा हाम्रो भताभुङ्ग शिक्षाको क्षेत्रमा ठुला परिवर्तनहरू हुनेछन् भन्ने आशा गरेको छु ।

    यो पत्रलाई नकारात्मक रूपमा लिनुहुनेछैन भन्ने पूर्ण विश्वासका साथ केही कुरा लेख्ने आँट गरेको छु ।  केही समय अगाडि निवर्तमान शिक्षामन्त्रीज्यूले यो मन्त्रालय सम्हाल्दै गर्दा मैले कतै लेखेको थिएँ, “अहिले पनि नेपालको शिक्षा सुध्रिएन भने नेपालको शिक्षा अझै ५० वर्ष सुध्रिँदैन ।” तर त्यो मेरो विश्वास उहाँले पूरा गर्न सक्नुभएन । शिक्षा जस्तो संवेदनशील क्षेत्रमा हचुवाकै भरमा केही निर्णय भए, तर उपलब्धि शुन्य भयो । शिक्षा ऐन आउने कुरा छेपाराको कथा बन्यो, शिक्षणलाई सम्मानित पेसा बनाउने, शिक्षकको तलब कम्तीमा पनि समान तहका अन्य कर्मचारीको भन्दा १ रुपैयाँ भए पनि बढी बनाई यस पेसामा आकर्षण बढाउने, शिक्षामा राष्ट्रिय बजेटको कम्तीमा २० प्रतिशत बजेट खर्च गर्ने, गरिखाने शिक्षाका लागि पाठ्यक्रमदेखि शिक्षण विधिसम्म परिवर्तन गर्ने भनी उहाँ र उहाँको पार्टीले विगतमा गरेका चर्का भाषण र घोषणापत्रका बुँदा कुनै पनि पूरा नहुनु अझ भनौँ सुरुवात नै नहुनु निराशाजनक देखियो । त्यसैले आज फेरि एकपटक तपाईँसँग ठुलो अपेक्षा राखेर खुला रूपमा यो पत्र लेख्दै छु । 

    कुनै एक कार्यक्रममा दक्षिण कोरियाका एक प्रोफेसरले भन्नुभएको कुरा सम्झिन्छु, “पछिल्लो समय दक्षिण कोरिया निरन्तर विकासको गतिमा हुनुको पछाडि एक मात्र कारण छ, त्यो हो हामीले पाठ्यक्रमलाई आफ्नो माटो सुहाउँदो बनायौँ र शिक्षालाई पहिलो प्राथमिकतामा राख्यौँ ।”

    नेपालको विकास र समृद्धि नहुनुको एक मात्र मुख्य कारण शिक्षा हो भन्ने कुरा अस्वीकार गर्न सकिँदैन । हाम्रा बालबालिका र युवाहरूमा शिक्षाको पहुँच र गुणस्तरीय शिक्षा उपलब्ध गराउनु हामी सबैको कर्तव्य हो । यस्तो संवेदनशील मन्त्रालय प्राप्त गर्नुभएकामा तपाईंलाई धेरै धेरै शुभकामना छ । नेपालको शिक्षा क्षेत्र धेरै समयदेखि सुधारको प्रतीक्षामा रहेको छ । हाम्रो अहिलेको शिक्षाप्रणाली नै पुरानो छ । सुधारका केही प्रयास भएपनि नयाँ पुस्ताको आवश्यकतासँग मेल खान सकिरहेको छैन । कुनै एक कार्यक्रममा दक्षिण कोरियाका एक प्रोफेसरले भन्नुभएको कुरा सम्झिन्छु, “पछिल्लो समय दक्षिण कोरिया निरन्तर विकासको गतिमा हुनुको पछाडि एक मात्र कारण छ, त्यो हो हामीले पाठ्यक्रमलाई आफ्नो माटो सुहाउँदो बनायौँ र शिक्षालाई पहिलो प्राथमिकतामा राख्यौँ ।” शिक्षामा सुधारका लागि आधारभूत संरचना, पाठ्यक्रम, शिक्षकहरूको तालिम, र प्राविधिक शिक्षा अत्यन्तै महत्त्वपूर्ण छन् तर सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको नेतृत्वको इच्छाशक्ति र दृढता हो । नेतृत्वले सही निर्णय लियो भने तुरुन्तै सुधार सम्भव छ भन्ने कुरा काठमाडौँका विद्यालयहरू हेर्दा स्पष्ट हुन्छ । शिक्षक उनै हुन्, विद्यार्थी उनै हुन्, अभिभावक र विद्यालय पनि उनै हुन्, कर्मचारी पनि पुरानै हुन्, बस् ! फेरिएको एक जना हो, ‘नेतृत्वकर्ता’ !

    नेतृत्वकर्ताको दृढता र प्रतिबद्धताले शिक्षामा अद्भुत परिवर्तन ल्याउन सक्छ । हामीले यो कुरालाई गम्भीरताका साथ लिनुपर्छ कि शिक्षकहरू शिक्षाको मेरुदण्ड हुन्, उनीहरूको तालिम, तलब सुविधा र सामाजिक सुरक्षामा सुधार ल्याएर उनीहरूको मनोबल उच्च राख्न सकिन्छ । अहिलेको अवस्थामा धेरै जसो शिक्षकहरू असन्तुष्ट छन् । उनीहरूको असन्तुष्टिले पठनपाठनको गुणस्तरमा प्रतिकूल असर पारेको छ । शिक्षकहरूलाई उच्च मनोबल र प्रेरणा प्रदान गर्नु जरुरी छ । उच्च मनोबल भाषणबाट होइन, शासनमा सुधार ल्याएर बनाउने हो । "सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ" भन्ने कुरालाई मार्गदर्शक आधार बनाएको तपाईँको पार्टीकै अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ, कम्तीमा उहाँलाई त "जीवनका लागि शिक्षा" हुनुपर्छ भन्ने कुरा बुझाउन तपाईँलाई गाह्रो पर्दैन भन्ने कुरामा विश्वस्त छु । 

    विश्वविद्यालयमा आफूले पढाएका विद्यार्थीहरू ५ प्रतिशतभन्दा पनि कम उत्तीर्ण गराउने, आफ्नो कक्षामा भन्दा बढी कथित शिक्षा सुधारका बहसमा उपस्थित हुने र तथानाम भनेर विद्यालय तहका शिक्षकको मनोबल गिराउने शिक्षाविद्को पगरी गुथेका ढेडुहरूलाई समयमै पहिचान गर्नुहुने छ ।

    मन्त्रीज्यू, तपाईँ आफैँ पनि २६ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्थ्यो, त्यसैले तपाईँले त्रिभुवन विश्वविद्यालयका समस्या बुझ्नुभएको छ र समाधान हुनेछन् भन्ने आशा छ । विश्वविद्यालयमा आफूले पढाएका विद्यार्थीहरू ५ प्रतिशतभन्दा पनि कम उत्तीर्ण गराउने, आफ्नो कक्षामा भन्दा बढी कथित शिक्षा सुधारका बहसमा उपस्थित हुने र तथानाम भनेर विद्यालय तहका शिक्षकको मनोबल गिराउने शिक्षाविद्को पगरी गुथेका ढेडुहरूलाई समयमै पहिचान गर्नुहुने छ । अरुलाई गाली गर्नुभन्दा आफूले नमुना कार्य गरेर अनुकरणीय हुनुपर्छ भन्ने कुरा स्थापित हुनुपर्छ ।  त्यस्ता शिक्षाविद्को लहैलहैमा लागेर शिक्षा सुध्रिँदैन भनेर थाहा पाउनुहुने छ भन्ने आशा छ । 

    वर्तमान पाठ्यक्रममा सुधार पनि अत्यन्त महत्त्वपूर्ण छ । अहिलेको पाठ्यक्रम सिद्धान्तमुखी छ । अरू जे सुकै गर, तर परीक्षामा लेख्नका लागि उत्तरहरू घोक भन्ने प्रकारले शिक्षण भइरहेको छ । तपाईँले देख्नुभएकै पनि छ होला, कृषिमा ए प्लस ल्याउने विद्यार्थीले प्याज र लसुनका बिरुवा छुट्याउन सक्दैन, गणितमा राम्रो विद्यार्थीले व्यावाहारिक हिसाव मिलाउन सक्दैन । हामीलाई यथार्थ जीवनमा उपयोगी, प्राविधिक र व्यावसायिक शिक्षाको आवश्यकता छ । नयाँ प्रविधिहरूको ज्ञान र आधुनिक सिपको विकास गराउने शिक्षा प्रणाली आवश्यक छ । यसमा तपाईंको भूमिका अत्यन्त महत्त्वपूर्ण रहनेछ ।

    विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयहरूको आधारभूत संरचना सुधार गर्नुपर्छ । ग्रामीण क्षेत्रका विद्यालयहरूको अवस्था दयनीय छ । शिक्षाको पहुँच सबै ठाउँमा समान हुनुपर्छ । सहर र गाउँबीचको विभाजनलाई अन्त्य गर्नुपर्ने आवश्यकता छ । काठमाडौँको खाल्डो छोडेर बाहिर ननिस्किएका शिक्षाविद्हरूले पाँचतारे होटलमा बसेर चिकन रोस्ट खाँदै बनाएको नीति र प्रतिवेदनले देशको शिक्षा सुध्रिँदैन । दुर्गम भेगमा विषयगत शिक्षक नपाइने अर्को समस्या छ । ५-७ पटक विज्ञापन गर्दा समेत शिक्षक नपाएको हामीले देखेका छौँ, अब शिक्षकलाई गाली होइन प्रोत्साहनका कार्यक्रम ल्याएर ती दुर्गम भेगमा हाँसीखुसी शिक्षक जाने वातावरण बनाउनुपर्छ ।   कम्तीमा नेपालका ७७ जिल्लामा बसेर सङ्घर्षपूर्ण तरिकाले आफ्नो विद्यालयलाई उत्कृष्ट बनाएका एक एक जना शिक्षकसँग नीति बनाउने बेलामा सल्लाह लिनुभयो भने वास्तविक र हाम्रो धरातलको नीति बन्छ, यो कुरालाई मनन् गरिदिनुहोला । सकेसम्म वैज्ञानिक रुपमा शिक्षकको दरबन्दी समायोजन गरी जहाँ विद्यार्थी त्यहाँ शिक्षक हुने वातावरणको निर्माण गर्नुहोला । आवधिक र पूर्वानुमान योग्य रुपमा शिक्षकको सरुवा गर्ने वातावरण तयार गरिदिनुहोला, कोही शिक्षक बजार नछाड्ने र कोही शिक्षकले बजारै नदेख्ने अवस्थाको अन्त्य गर्ने जिम्मेवारी पनि तपाईँकै काँधमा छ ।

    शिक्षाको क्षेत्रमा लगानीको अभाव पनि एउटा ठुलो समस्या हो । बजेटको ठुलो हिस्सा शिक्षामा खर्च गर्नुपर्ने आवश्यकता छ । हाम्रो सरकारले शिक्षालाई प्राथमिकता दिएर आवश्यक बजेट व्यवस्थापन गर्नुपर्छ । शिक्षामा गरिएको लगानी नै देशको भविष्यका लागि गरिएको लगानी हो भन्ने कुरा बुझ्नुपर्ने छ । विगतमा राट्रिय बजेटको १७.११ प्रतिशतसम्म लगानी गरिएको शिक्षा क्षेत्र अहिले १०.९५ प्रतिशत बजेटमा खुम्चिएको छ, किन यस्तो भइरहेको छ त ? यसमा पनि शिक्षकको तलब, विद्यालयका भौतिक संरचना लगायत सम्पूर्ण खर्च त्यहीँबाट गर्नुपर्दा साँच्चै शैक्षिक गतिविधिमा हामीले कति लगानी गरेका छौँ ? बहस र समीक्षा हुनुपर्ने होइन र ? हामीले चाहेको गुणस्तर यसबाट प्राप्त होला ? 

    शिक्षामा प्रविधिको प्रयोग अर्को एउटा बहसको विषय हो । यसको प्रयोगले पनि शिक्षामा ठुलो परिवर्तन ल्याउन सक्छ । डिजिटल शिक्षाको प्रयोग गरेर विद्यार्थीहरूलाई उच्च गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ । यसका लागि विद्युत र इन्टरनेटको पहुँच, डिजिटल डिभाइसहरूको उपलब्धता र यसको सदुपयोगका लागि शिक्षक र विद्यार्थीलाई आवश्यक तालिम महत्त्वपूर्ण कुरा हुन् । डिजिटल प्रविधिको सदुपयोग गर्न जानियो भने उत्तम र जानिएन भने खत्तम बनिन्छ भन्ने कुरामा त यहाँको पनि मतैक्यता होला !

    बिग्रेको मेसिनमा बासमतीको धान कुट्दैमा चामल राम्रो आउने होइन, पहिला मेसिन सुधार्नुपर्छ धान जुनसुकै कुटे पनि चामल राम्रा निस्किन्छन् ।

    शिक्षामा समानता र समावेशिता पनि सुनिश्चित गर्नुपर्ने आवश्यकता छ । सबै विद्यार्थीहरूलाई समान अवसर र पहुँच प्रदान गर्नुपर्ने छ । जाति, धर्म, भाषा, र क्षेत्रका आधारमा विभेद नगरी सबै विद्यार्थीहरूलाई समान अवसर उपलब्ध गराउनु नै सही शिक्षा प्रणालीको पहिचान हो । विद्यार्थीले कुन भाषामा सिक्यो वा कस्तो विद्यालयमा सिक्यो भन्ने कुरा गौण हुन्, के सिक्यो भन्ने प्रमुख हो । नेपाल सरकारको विभिन्न सेवामा कार्यरत कर्मचारीका सन्ततिका लागि फरक फरक विद्यालय आवश्यक नै छैन । सामुदायिक विद्यालयको गुणस्तरमा सुधार गर्न सके अरू कुनै विद्यालयको विरोध गर्नुपर्ने हुँदैन । हाम्रो अर्को भ्रम छ, "फलानाको सन्तति सामुदायिक विद्यालयमा भर्ना गरियो भने विद्यालय सुध्रिन्छ" भन्ने । मलाई त त्यस्तो लाग्दैन, बिग्रेको मेसिनमा बासमतीको धान कुट्दैमा चामल राम्रो आउने होइन, पहिला मेसिन सुधार्नुपर्छ धान जुनसुकै कुटे पनि चामल राम्रा निस्किन्छन् । 

    मैले विभिन्न जिल्लामा उत्तम र निम्न नतिजा ल्याएका विद्यालयहरू हेर्दा त्यहाँको प्रशासकीय जिम्मेवारी लिएको प्रधानाध्यापकको क्षमताले यसलाई प्रत्यक्ष असर गर्दो रहेछ । दूरदर्शी प्रशासकले शिक्षक र विद्यार्थीलाई गरिने गालीका शब्दहरू होइन, विद्यालयलाई सुधार गर्ने योजनाका विषयहरू खोजी गर्दो रहेछ । जानेर वा नजानेर विद्यालयमा हुने भ्रष्टाचार (कानुन विरुद्धका कार्य) ले विद्यार्थीहरूको भविष्यमा प्रतिकूल असर पुर्‍याइरहेको छ । तोकिएको समय शिक्षकले कक्षामा नबिताउनु, तोकिएको जिम्मेवारी अभिभावकले र विद्यार्थीले पूरा नगर्नु पनि यसका अङ्ग हुन् । 

    अन्त्यमा, शिक्षा क्षेत्रमा सुधार ल्याउन तपाईँको दृढता, प्रतिबद्धता, र इच्छाशक्ति अति आवश्यक छ । नेतृत्वकर्ताको सही निर्णय र दूरदर्शी सोचले शिक्षाको क्षेत्रमा अद्भुत परिवर्तन ल्याउन सक्छ । तपाईंको कार्यकालमा हाम्रो शिक्षाको प्रणालीमा सकारात्मक परिवर्तन आउनेमा हामी पूर्ण आशावादी छौँ ।

    फेरि एक पटक तपाईंलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु । आशा छ, तपाईंको नेतृत्वमा हाम्रो शिक्षाको क्षेत्रमा ठुला परिवर्तन र सुधार हुनेछन् । धन्यवाद ।


    उही तपाईँको शुभचिन्तक

    के. आर. ढकाल        

    शिक्षक              




    08 July, 2024

    "मेडम मैले त्यो दिन पौडी खेलेको थिइन ।"

    २०५३ साल । 

    म कक्षा ३ मा पढ्थेँ । श्री जनकल्याण प्राथमिक विद्यालय, थप्रेक २, सिम्ले (हाल श्री जनकल्याण आधारभूत विद्यालय, शुक्लागण्डकी १) तनहुँ मेरो विद्यालयको नाम । कक्षामा जान्ने विद्यार्थी मध्येमै परिन्थ्यो । 


    तुलनात्मक रुपमा विद्यार्थीहरु अल्ली बढी चकचके स्वभावका भइहाल्छन् । हामी पनि थियौँ होला । गर्मी मौसमको एक दिन, हाफछुट्टीमा साथीहरु सिम्लेको खोल्सामा भएको सानो 'रह'मा पौडी खेल्न गए । म पौडी खेल्न नजान्ने अझ भनौँ डराउने मान्छे थिएँ, त्यसैले गइन । कक्षामा पौडी खेल्न वा खेलेको हेर्न नजाने म मात्रै थिएँ । मैले आइडिया निकालेँ, हाफछुट्टीमै होमओर्क सक्दिने अनि होमओर्क गर्न थालेँ । 

    पाँचौँ घण्टी बज्यो । एकजना मेडम (नाम भन्दा मेडमलाई असर पर्न सक्ने भएकाले गोप्य राखेको छु) पढाउन मेरो कक्षामा आउनुभयो । कठै नि, विद्यार्थी त कक्षाभरीमा म एउटा मात्रै । "अरु साथी कता गए ?" भनेर मेडमले सोध्नुभयो, मैले पौडी खेल्न गएको कुरा भन्दिएँ । मेडमले मलाई साथी बोलाउन पठाउनुभयो । बच्चा बेलाको समय, साथीले कारबाही भोग्ने भए भन्ने कुराले पनि खुसी नै बनायो । बनाउन हुन्थेन, जोगाउन पर्थ्यो, अहिले पो बुद्धि आउँछ त, त्यति बेला त साथीलाई पिटाइ खान बोलाउन गइयो नि । सिम्लेको खेतको छेउमा तिँजुको बोट समाएर चिच्याएँ, "ओइ जम्मैले सुनो, ... मेडम कक्षामा आउनुभ'छ, छिट्टो आओ अरे, मेडमले पिट्नी भनेर लौरो नि ल्याउनो'छ ।" 

    एक सासमा यति सुचना दिएपछि दायाँबायाँ कहीँ नहेरी स्याँस्याँ र फ्याँफ्याँ गर्दै फर्केर फेरी स्कुलमै आएँ । कक्षामा पस्न लाग्दा मेडमले बाहिरै रोक्नुभयो । ३-४ मिनेट पछि साथीहरु पनि असिन पसिन हुँदै आइपुगे । मेडमले सबैलाई लाइन लाग्न भन्नुभयो । लाइनको अगाडि म उभिएँ, मेरो पछाडी अरु । म त्यतिन्जेल पनि खुसी नै थिएँ किनकी साथीहरुले सजाय पाएको मैले हेर्न पाउनेवाला थिएँ तरपनि म केही बोलेको थिइन । सायद अनुहारमा खुसी भने देखिएको थियो होला ।  

    मेडमले सबैभन्दा पहिला मलाई हात थाप्न भन्दै लौरो उचाल्नुभयो, अब भने मेरो होस उड्यो । मैले आफू पौडी खेल्न नगएको बताएँ । मेडमले (कु)तर्क पेस गर्नुभयो, "साथीहरुलाई बोलाउन जाँदा खेलिस् होला !" मैले खेलेकै होइन भनेर सफाइ पेस गरेँ । मेडमले नै पठाएर साथीहरुलाई बोलाउन गएको स्मरण गराएँ, मेडमले मान्नुभएन । वास्तवमा उहाँलाई पनि थाहा थियो कि म यति छोटो समयमा फर्किएको थिएँ कि कुनै पनि हालतमा पौडी खेल्ने त के कुरा पानी भएको ठाउँमा पुगेर फर्किन पनि सम्भव थिएन । तरपनि उहाँ मान्नुभएन र मेरो हातमा एक लठ्ठी हान्नुभयो । त्यसपछि सबै साथीहरुले पालैपालो पिटाइ खान सुरु गरे । 

    एक त म ३ कक्षामा पढ्ने, त्यहीँमाथि सानो कदको विद्यार्थी । थप प्रतिवाद केही गर्न सकिन । आँखामा आँसु लिएर कक्षामा गएँ । त्यसपछि त्यो दिन के पढियो ? के गरियो ? केही पनि सम्झनामा छैन । तर मलाई पिर चाहीँ नमेटिने गरी पर्यो । 

    अहिले म शिक्षक भएको छु । त्यही दिनको घटनाले मेरो जिवनमा एउटा बानीको विकास भयो । मैले कुनैपनि विद्यार्थीलाई कारबाही गर्न पर्यो भने सधैँ उसलाई स्पष्टिकरण पेस गर्ने पर्याप्त मौका दिने गर्छु । उसको स्पष्टिकरण सुन्छु र फरक दृष्टीबाट समेत घटनालाई बुझ्ने प्रयास गर्छु । त्यस मानेमा मलाई मेडमले राम्रै शिक्षा दिनुभएको ठान्छु । 

    अब पनि उहाँलाई कुनै दिन भेट्न पाएँ भने आदरपूर्वक आफ्नो कुरा राख्न मन छ, "मेडम मैले त्यो दिन पौडी खेलेको थिइन ।" 

    पहिलो सम्मान

     २०६२ साल !

    घर छाडेर पोखरा आएको करिब १ वर्ष भएको थियो । बसाइ पोखरा, फुलबारीमा थियो । तिजको बेला, वडा स्तरीय महिला न्यायिक मञ्च पोखरा ११ ले तिजगित प्रतियोगिता आयोजना गरेको रहेछ । म प्रतियोगिता भएको स्थानमा गित सुन्न गएको थिएँ । सारदा वाँस्तोला आमाले मलाई अति धेरै कर गरेर एउटा गित गाउन अनुरोध गर्नुभयो । त्यतिबेला "बुहारीको बेदना" भन्ने तिजगित चलेको थियो । मैले त्यही गितको बिपरित ध्रुबमा बसेर एउटा गित तयार गरेको थिएँ, "सासुको बेदना" । मैले अप्रतियोगी रूपमा उक्त तिजको गित गाइदिएँ

    "कस्तो आयो जमाना नि आठ बजे उठनी,
    मुखै नधोइ भात खानी थालमै चुठनी !"....


    गित गाएर स्टेजबाट झर्नै लाग्दा स्टेजमा भएका अतिथिले मलाई रोक्नुभयो । अबिर ल्याएर टीका लगाइदिनुभयो । पछाडिबाट एउटा खाम दिन भनियो, मैले खाम पाएँ । वाद्यवाधकले मलाई बोलाएर आडैमा राखेर छ्याइँछ्याँइ बजाउन भन्नुभयो । २-४ वटा गित प्रस्तुत भइन्जेल त्यहीँ बसेर सुनेँ ।
    बेलुका घरमै एउटा प्रमाणपत्र आयो, तिजगित प्रतियोगितामा एकल समूहबाट सहभागी भएको भन्ने बेहोराको । खाम खोलेर हेर्दा खाममा ५०५/- रूपैयाँ रहेछ । त्यतिबेला मेरोलागि त्यो रकम आफूले पाएको सबैभन्दा ठूलो राशीको सम्मान थियो !
    यसरी पोखराले मलाई साहित्यमा तानेर ल्याएको हो । कुनैदिन घचेटेर नछाडोस्, म भागेर जान्न ।